TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

नयाँ वैकल्पिक शक्तिको उदय- कमल थापा

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरणसँगै नेपालको राष्ट्रिय राजनीतिमा फेरि एकपटक वैकल्पिक शक्तिको चर्चा सुरु भएको छ। लामो राजनीतिक अनुभव संगालेका, विगतमा राम्रो जनाधार भएका तथा मूलधारका प्रमुख राजनीतिक दलभन्दा केही फरक वैचारिक मान्यता र धरातल बोकेका व्यक्ति एकै स्थानमा खडा हुन गएपश्चात केही तरंग देखा पर्नु अस्वाभाविक होइन। उल्लिखित दुई पार्टीबीचको एकता कसैको रहर पूरा गर्न वा कसैले अह्राएर भएको होइन। मूलतः देशभरका पार्टी कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुको निरन्तरको चाहना एवं मुलुकको विग्रँदो वर्तमान परिस्थितिको परिणामस्वरूप राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएको हो।

 

 

देशलाई अहिले दूरगामी सोचाइ, दृढता र साहसिक नेतृत्वको आवश्यकता छ। यो आवश्यकतालाई एकीकृत राप्रपाले पूरा गर्नेछ।

बहुदलीय प्रजातन्त्र पुनर्स्थापनासँगै राष्ट्रिय राजनीतिमा निरन्तर आफ्नो गौरवपूर्ण शाख कायम गर्न सफल राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचारसहित छोटो समयमा देशको चौथो ठूलो राजनीतिक शक्ति बन्न सफल राप्रपा नेपालबीचको एकीकरणबाट स्वभावतः देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको छ। निश्चितरूपले एक भरोसायोग्य वैकल्पिक शक्ति खडा भएको छ। यो एकीकरणले देशमा विद्यमान शक्ति सन्तुलनमा गुणात्मक परिवर्तन ल्याउनेछ तथा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण एवं हिन्दुत्वको सम्बर्द्धनमा नयाँ आयाम थप गर्नेछ। पार्टी एकीकरणको औचित्य र महत्वलाई ठीक ढंगबाट बुझ्न देशको वर्तमान राजनीतिक सन्दर्भलाई संक्षेपमा समीक्षा गर्नु सान्दर्भिक हुनेछ।

देश अहिले संविधान कार्यान्वयन एवं राष्ट्र निर्माणकोे जटिल र कठिन नयाँ संक्रमणको चरणमा प्रवेश गरेकोे छ। संविधान जारी भएपश्चात विगतमा देखिएको राजनीतिक अस्थिरता र अराजकता अन्त्य भई मुलुक आर्थिक विकास र समृद्धिको मार्गमा द्रुततर गतिले अग्रसर हुनेछ भन्ने आमनेपाली जनताको स्वाभाविक अपेक्षा छ। तर नयाँ संविधान बनिसकेपछिको पछिल्लो राजनीतिक घटनाक्रम एवं विशेषतः सत्ताकेन्द्रित फोहोरी प्रतिस्पर्धाको पुनरावृत्तिले जनताको अपेक्षा बिस्तारै कुण्ठित हुने हो कि भन्ने शंकासमेत बढ्दै गएको छ। बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चातको २६ वर्षमा २४ वटा सरकार परिवर्तन भएबाट दिक्क भएका नेपाली जनतामा फेरि नंयाँ संविधानले पनि स्थिरता नदिने हो कि भन्ने चिन्ता बढेर गएको छ।

विगतका त्रुटि, कमी/कमजोरीहरुको परिणामस्वरूप देश अहिले गम्भीर संकटको चक्रब्यूहमा फसेको सर्वविदित छ। कुनै पनि मुलुकको स्थायित्व, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता शून्यमा खडा भएको हुँदैन। युगौँयुगदेखि विकसित र परिमार्जित हुँदै गएका मान्यताको धरातलमा राष्ट्रिय अस्तित्व कायम भएको हुन्छ। उल्लिखित आधारभूत मान्यताहरुलाई समयानुकूल परिमार्जन गरेर नै राष्ट्रलाई सवल र समृद्ध बनाउनुपर्छ। त्यही नै उपयुक्त बाटो हो। तर केही नेताको क्रान्तिकारी लहड र बाह्य शक्तिहरुको अभिप्रेरणाका आधारमा दोस्रो जनआन्दोलनपश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा राष्ट्रको स्थायित्व र अस्तित्वको मूलभूत स्तम्भहरुलाई हठात ध्वस्त पार्ने कार्य गरियो। विकल्पलाई तत्काल स्थापित गर्ने सहज धरातलीय वातावरण थिएन। फलस्वरूपः मुलुक डरलाग्दो रिक्तताको भूमरीमा फस्न पुग्यो। अहिले देशले भोग्नुपरेको अस्थिरता, अन्योल र अराजकताको मूल जड पनि त्यही हो।

नेपालको इतिहासमा पहिलो पटक सानैरूपमा भए पनि विखण्डनको आवाज उठ्न थालेकोे छ। आधुनिक नेपाल निर्माणपछिको दुई शताब्दी भन्दा लामो इतिहासमा अनेकौँ राजनीतिक उतारचढाव देखा परे, राजनीतिक परिवर्तन भए तर देश टुक्राउने आवाज कतैबाट उठेको थिएन। अहिले विखण्डनकारी आवाज अत्यन्त प्रारम्भिक र नगण्य अवस्थामा छ। तर विगतमा एउटा भरुवा बन्दुक र एउटा पेस्तोल बोकेर करिव सय जना जतिले शुरु गरेको कथित जनयुद्ध एक दशक नपुग्दै डरलाग्दो शक्ति बनेको तीतो यथार्थ हाम्रो सामुन्ने छ। विगतमा जस्तै केही प्रमुख भनिने राजनीतिक दलहरुको अकर्मण्यता, स्वार्थ र सत्तालिप्साको कारणबाट अहिले निकै सानो हैसियतमा रहेको विखण्डनकारी तत्व कालान्तरमा खतरनाक अवस्थामा पुग्ने हो कि भन्ने अहिले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ।

विगत एक दशकयता नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिहरुको चलखेल र प्रभाव व्यापक हुन पुगेको छ। साथै, अपरिपक्व र दिशाहीन परराष्ट्र नीति एवं कूटनीतिक मर्यादा र व्यवहारमा देखिएको विचलनको परिणामस्वरूप नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरासमेत बढेर गएको छ।

नेपाली पहिचान र संस्कृतिमाथि गम्भीर अतिक्रमण भइरहेको छ। धर्म निरपेक्षताको आडमा योजनाबद्ध एवं संगठितरूपले धर्म परविर्तन गराउने कार्य तीव्र गतिले जारी छ। यसबाट नेपालको सनातन धर्म, संस्कृति र पहिचान संकटमा पर्ने खतरा स्पष्ट छ। त्यसैगरी यसबाट परम्परादेखि नेपाली समाजमा कायम रहंँदै आएको सामाजिक/सांस्कृतिक सद्भाव र एकता खलबलिई देश धार्मिक द्वन्द्वमा फस्ने खतरा बढेको छ।

गत एक दशकमा कायम गरिएको गलत परम्परा, प्रवृत्ति एवं राजनीतिक अभ्यासले प्रजातन्त्रको भविष्यलाई समेत चुनौती दिइरहेको छ। राज्य सञ्चालनमा  देखिएको सर्वसत्तावादी चिन्तन, राज्यका विभिन्न अंगको पार्टीकरण, निषेधको राजनीति, प्रतिपक्षलाई कमजोर बनाउने प्रयास तथा संविधानका अन्तर्वस्तुहरुमा रहेको अन्तर्विरोधले प्रजातन्त्रको मूलभूत मान्यता कमजोर हुने तथा सर्वसत्तावाद हावी हुने अवस्था सिर्जना हुन सक्छ।

हिंसात्मक द्वन्द्व र अस्थिर संक्रमणकालले देशको अर्थतन्त्रलाई गम्भीर आघात पुर्‍याएको छ। अर्थतन्त्रका अधिकांश सूचकहरु उत्साहप्रद् छैनन्। लगानीको वातावरण बन्न सकेको छैन, उद्योग व्यवसाय सुस्त छ, मुद्रास्फीति बढेको छ, विभिन्न मुलुकसँगको व्यापार घाटा निरन्तर बढिरहेको छ, लोडसेडिङ कम हुन सकेको छैन, बेरोजगारी समस्या विकराल छ तथा गरिब र धनीबीचको खाडल विगतको तुलनामा अझै गहिरो हुंदै गइरहेको छ। समग्रमा देशको आर्थिक अवस्था संकटग्रस्त छ, केवल रेमिट्यान्समा अर्थतन्त्र अढेको छ।

संक्रमणकालको फाइदा उठाउंँदै मुलुकमा डरलाग्दो भ्रष्टाचार र लुट कायम छ। स्थानीय निकाय जनप्रतिनिधिबिहीन रहँदा विकास निर्माणको बजेट व्यापक दुरुपयोग भइरहेको छ। राज्यको ढुकुटीलाई विभिन्न बहाना र आधारमा दोहन गर्ने कार्य अनियन्त्रितरूपमा भइरहेको छ। कमिसनतन्त्र र दण्डहीनता मौलाएको छ। जावफदेहिता र पारदर्शिताको नितान्त अभाव छ। फलस्वरूप भ्रष्टाचार र अनियमितता बिस्तारै राष्ट्रिय चरित्र बन्दै गइरहेको छ। मुलुकको नेतृत्व गर्नुपर्ने राजनीतिक क्षेत्र नै सबैभन्दा बढी भ्रष्ट रहेको ट्रान्सपरेन्सी नेपालको प्रतिवेदनले देखाएको छ। यस्तो अवस्थामा स्थानीय सरकारका रूपमा रहनुपर्ने प्रशासनिक संयन्त्र पार्टीकरणको प्रभावमा परेर नराम्रोसँग थला परेको छ। प्रशासनिक संयन्त्र र संवैधानिक अंगहरुको क्षमतामा अविश्वसनीय ढंगबाट ह्रास आएको छ।

मुलुकका सामुन्ने हाल विद्यमान उपरोक्त तीतो यथार्थलाई इमानदारीपूर्वक विचार गर्ने हो भने संकटबाट मुक्तिका लागि वैकल्पिक मार्गचित्र बोकेको एउटा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको तथ्यलाई सहजै महसुस गर्न सकिन्छ। यस्तो शक्ति जो राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध रहेको होस्। साथै सनातन धर्म, मूल्य/मान्यता, संस्कृति नेपालको गौरवपूर्ण इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै समुन्नत नेपाल निर्माण गर्न सक्षम होस्। यही आवश्यकता परिपूर्तिका निमित्त दुई पार्टीबीच एकता भएको हो।

सम्बर्द्धनवाद एकीकृत राप्रपाको मूल वैचारिक एवं दार्शनिक धरातलका रूपमा रहनेछ। नेपालको भूराजनीतिक अवस्था, सामाजिक सांस्कृतिक परिवेश एवं राष्ट्रिय हितको दृष्टिकोणबाट सम्बर्द्धनवाद नै नेपाली राष्ट्रिय राज्यको आधारस्तम्भ हो भन्दा अतिशयोक्ति हुने छैन। निरन्तरतासहितको परिवर्तन सम्बर्द्धनवादको सारतत्व हो। शान्ति, प्रजातन्त्र र आर्थिक उदारवाद जस्ता विश्व विजेता विचार सम्बर्द्धनवादको मूल मान्यता हुन्। यसैगरी २००७ सालको क्रान्तिले कायम गरेको बहुदलीय प्रजातन्त्र, २०४६ सालको पहिलो जनआन्दोलनले स्थापित गरेको बहुदलीय प्रजातन्त्रसहितको आधारभूत मान्यता र २०६२/६३ को दोस्रो जनआन्दोलनको मुख्य उपलब्धिका रूपमा रहेको सामाजिक न्याय र समावेशिताको सिद्धान्तलाई समेत राप्रपाले आत्मसात गरेको छ। सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, बडामहाराजाधिराज पृथ्वीनारायण शाहको एकीकरण एवं राष्ट्रिय मेलमिलापको नीतिसमेत राप्रपाले आत्मसात गरेको सम्बर्द्धनवाद विचारको प्रेरणाका स्रोत हुन्।

निश्चय नै देश अहिले कठिन र जटिल अवस्थामा छ। तर मुलुकको भविष्यप्रति निराश वा विचलित हुनु आवश्यक छैन। नेपाली जनताको राष्ट्र प्रेम, जागरुक युवा जनशक्ति, कठिन अवस्थामा पनि धैर्य र साहसका साथ काम गर्ने नेपाली चरित्र तथा मुलुकमा विद्यमान अपार सम्पदा र सम्भावनाको कारणबाट नेपालको उज्ज्वल भविष्यप्रति सदैव आशा गर्न सकिन्छ।

यसका साथै, नयाँ संविधान एवं संविधान जारी भएपछिको अवस्थाले चुनौतीमात्र होइन अवसर पनि प्रदान गरेको छ। थुप्रै विवाद  र कमजोरीका वावजुद यो संविधानले प्रजातन्त्रका विश्वव्यापी मान्यता आत्मसात गरेको छ। समावेशी र समानुपातिक सिद्धान्तको दृष्टिकोणबाट संविधान तुलनात्मकरूपमा प्रगतिशील र अग्रगामी छ भन्दा अतिशयोक्ति हुने छैन। ठीक ढंगबाट काम हुन सक्यो भने संविधान जारी भएपछिको अवस्थाले न्यूनतम शान्ति, प्रजातन्त्र र स्थिरता कायम गर्न सक्छ। देशलाई अहिले दूरगामी सोचाइ, दृढता र साहसिक नेतृत्वको आवश्यकता छ। यो आवश्यकतालाई एकीकृत राप्रपाले पूरा गर्नेछ। असहज परिस्थितिमा पनि आफ्नो सिद्धान्त र निष्ठामा अटल रहने राप्रपा जनताले भरोसा गर्न सक्ने वैकल्पिक शक्ति हो।

साभारः नागरिक न्यूज डटकम